काठमाडौं, १८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको संरक्षणका लागि पार्टीलाई सशक्त रूपमा अघि बढ्न निर्देशन दिएका छन्।
आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले संसद् र सडक दुवै मोर्चाबाट शान्तिपूर्ण संघर्षका लागि तयारी गर्न सांसदहरूलाई आग्रह गरेका हुन्।
ओलीले एमाले संसद्मा संख्यात्मक रूपमा प्रतिपक्षमा रहे पनि लोकतन्त्र र संविधान निर्माणमा पार्टीको महत्वपूर्ण भूमिका भएकाले त्यसको संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताए।
उनले सांसदहरूलाई विषयवस्तुको गहिरो अध्ययन गर्न, विज्ञहरूसँग परामर्श गर्न तथा जनताका समस्या प्रभावकारी रूपमा संसद्मा उठाउन निर्देशन दिएका छन्।
एमाले प्रमुख सचेतक ऐन महरका अनुसार बैठकले वर्तमान सरकार लोकतन्त्र, संविधान र जनजीविकाका सवालमा असफल हुँदै गएको निष्कर्ष निकालेको छ। एमालेले सरकार सत्ताकेन्द्रित हुँदै गएको, संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको तथा जनमतको उपेक्षा गरेको आरोपसमेत लगाएको छ।














