काठमाडौं, १८ असोज । खुलामञ्चमा आयोजित राजनीतिक कार्यक्रमलाई लिएर प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गरेको टिप्पणीप्रति कांग्रेस, एमाले र नेकपाका नेताहरूले जवाफ दिएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै टिप्पणी गरेका थिए।
त्यसको जवाफमा कांग्रेस नेता सचिन तिमलसिनाले लोकतन्त्रकै कारण प्रधानमन्त्रीले समेत सामाजिक सञ्जालमा टिप्पणी गर्न पाएको बताएका छन्।
एमाले सचिव महेश बस्नेतले सरकारमाथि प्रश्न गर्नु लोकतान्त्रिक अधिकार भएको भन्दै ‘प्रश्न गर्नु गाली हो?’ भनेर प्रधानमन्त्री लाई प्रतिप्रश्न गरेका छन्। उनले खुलामञ्च विगतका राजनीतिक दलहरूले बनाएको उल्लेख गर्दै सरकार जनताका प्रश्नप्रति जवाफदेही हुनुपर्ने बताएका छन्।
नेकपाका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पनि प्रधानमन्त्री शाहको टिप्पणीप्रति व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन्।
खुलामञ्चको विषयबाट सुरु भएको विवाद अहिले सामाजिक सञ्जालमा दलका नेताबीच आरोप–प्रत्यारोपमा परिणत भएको छ।














