जनकपुर, १८ असोज । सन्तानको दीर्घायु, स्वास्थ्य, सुख र समृद्धिको कामना गर्दै तराई–मधेसका महिलाले मनाउने जितिया पर्व विधिपूर्वक सम्पन्न भएको छ।
‘जीवितपुत्रिका व्रत’समेत भनिने जितियामा महिलाहरूले निराहार व्रत बसेर जिमुतवाहन देवताको पूजा गर्ने तथा धार्मिक कथा सुन्ने परम्परा छ। असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने यो पर्व शुक्रबारदेखि सुरु भएको थियो।
पर्वको पहिलो दिन व्रतालु महिलाले पोखरी, तलाउ वा जलाशयमा स्नान गरी घिरौँलाको पातमा तेल, सिन्दूर, तोरीको पिना, मेहन्दी तथा फूल चढाएर ‘नहाय–खाय’ विधि पूरा गरेका थिए। व्रतको पूर्वसन्ध्यामा दही–च्युउरा, माछा तथा कोदो खाने चलनसमेत छ।
शनिबार बिहानदेखि निराहार व्रत बसेका महिलाले आइतबार नवमी तिथि सुरु भएपछि पूजाआजा र धार्मिक विधि पूरा गरी व्रत तोडेका हुन्। जितिया थारूलगायत तराई–मधेसका विभिन्न समुदायमा धार्मिक आस्थासँगै मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको पर्वका रूपमा मनाइँदै आएको छ।













