जनकपुर, ८ असोज । जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जानकीनगर मुसहरी टोलमा एक युवतीमाथि कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको छ।
जानकीनगर मुसहरी टोलमा बस्दै आएकी वर्षा कुमारी सदालाई पगलावाबा धर्मशाला क्षेत्रमा बस्ने शिवसुन्दर सिंहकी छोरीसहित चार जना युवतीले कुटपिट गरेको आरोप लगाउँदै उनकी आमा सन्तोषी सदाले प्रहरीमा उजुरी दिएकी हुन्।
सन्तोषीले घटना सम्बन्धमा छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न माग गर्दै २०८३ भदौ २९ गते जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएको जनाइएको छ।
कुटपिटबाट वर्षा घाइते भएपछि उपचारका लागि अस्पताल पुर्याइएको उजुरीमा उल्लेख छ। घटनाबारे प्रहरीले के–कस्तो कारबाही अघि बढाएको छ भन्ने विषयमा थप जानकारी लिन पीडित पक्षले राट्रिय दलित पत्रकार संघका अध्यक्ष कुलदिप दासलाई आग्रह गरेको छ।
घटनाको वास्तविक अवस्था, कुटपिटको कारण तथा संलग्न व्यक्तिबारे प्रहरी अनुसन्धानपछि थप विवरण खुल्नेछ।














