जनकपुर, ७ असोज । मधेश प्रदेश सरकारले पहिलोपटक आफ्नै स्तरबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाएर वितरण सुरु गरेको छ।
श्रम तथा यातायात मन्त्रालयले पहिलो चरणमा ३ हजार ८१ वटा लाइसेन्स छपाएर प्रदेशका आठवटै यातायात व्यवस्था कार्यालयमा वितरणका लागि पठाएको हो।
वीरगञ्जमा १,१७२, जनकपुरमा ९३२, लहानमा ४६०, बर्दिबासमा ३०३, गौरमा ११९, राजविराजमा ५२, मलंगवामा ३२ र कलैयामा ११ वटा लाइसेन्स छापिएका छन्।
मन्त्री शारदादेवी थापाले लाइसेन्स छपाइ सुरु भएसँगै सेवाग्राहीले लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था अन्त्य हुने बताइन्। उनले छापिएका लाइसेन्स शीघ्र वितरण गर्न यातायात कार्यालयहरूलाई निर्देशन दिइन्।














