काठमाडौं, ७ असोज । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।
न्युयोर्कमा रहेका प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमार्फत सम्भावित वर्षाका कारण बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा सडक र हवाई यातायातमा अवरोध हुन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।
मौसम विज्ञान विभागका अनुसार गण्डकी र लुम्बिनीका केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना छ भने कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा पनि भारी वर्षा हुन सक्नेछ।
बाढी–पहिरोको जोखिम भएका क्षेत्र तथा नदी–खोलानजिक विशेष सतर्कता अपनाउन, राति र पानी परिरहेका बेला राजमार्ग यात्रा नगर्न तथा हिमाली क्षेत्रमा जाने योजना मौसम सुधार नभएसम्म स्थगित वा पुनर्विचार गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन्।














