काठमाडौं, ७ असोज । सम्भावित भारी वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि सरकारले नदी तथा मौसमको अवस्था निरन्तर निगरानी गर्दै घण्टा–घण्टामा पूर्वसूचना अद्यावधिक गर्ने भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग समन्वय गरी नदीको जलसतह र जोखिमलाई रियल टाइममा निगरानी गरिनेछ। नागरिकलाई मोबाइल एसएमएसमार्फत समेत आवश्यक सूचना दिइनेछ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा फर्किन, अत्यावश्यकबाहेक यात्रा नगर्न र जोखिम बढे राजमार्ग तथा सडकमा आवागमन रोक्न सकिने प्राधिकरणले जनाएको छ।
मुख्य राजमार्गमा सडक खुलाउन डोजर तयारी अवस्थामा राखिएको छ भने सुरक्षा निकायलाई हाई अलर्ट मा राखिएको छ। किसानलाई पाकेको धान तथा भण्डारण गरिएको अन्न जोगाउन र बाढीका बेला भिडियो खिच्न वा खोलामा पस्न नहुने प्राधिकरणले आग्रह गरेको छ।














