काठमाडौं, ७ असोज । भोटेकोशी बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएको सरकारले जनाएको छ।
प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले माथिल्लो त्रिशूली–१, थ्री–ए, रसुवागढीलगायत आयोजनामा ठूलो मानवीय तथा भौतिक क्षति भएको जानकारी दिए।
बाढीका कारण ११ वटा जलविद्युत केन्द्र बन्द हुँदा राष्ट्रिय प्रसारण प्रणालीबाट ४१० मेगावाट विद्युत बाहिरिएको छ। ऊर्जा क्षेत्रमा प्रारम्भिक रूपमा करिब ३ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको मन्त्रालयको अनुमान छ।
सरकारले बेपत्ता नेपाल विद्युत प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत र ६ महिनासम्म आधा तलब दिने जनाएको छ। प्रभावित ग्राहकलाई न्यूनतम महसुल मिनाहा, निःशुल्क मिटर तथा अन्य सहुलियतको व्यवस्था गरिएको मन्त्री श्रेष्ठले बताए।














