वीरगन्ज, ७ असोज। पर्साको वीरगन्जमा प्रहरीले ब्राउन सुगर र अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो वीरगन्जको संयुक्त टोलीले वीरगन्ज–१५ स्थित चालीस फिट्टे सडकखण्डमा चेकजाँच गर्दा १५४ ग्राम ब्राउन सुगरसहित पर्सा छिपहरमाई–२ का ४६ वर्षीय रेयाज आलम र जगरनाथपुर–६ का ३७ वर्षीय सन्तोष प्रसाद पटेललाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पटेलको घर खानतलासी गर्दा थप ११ ग्राम ५९ मिलिग्राम अफिम बरामद भएको छ। मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए।














