काठमाडौं, ७ असोज । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली गहिरो न्यूनचापीय क्षेत्रमा परिणत भई पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभाव बुधबारदेखि नेपालमा देखिन थालेको छ।
मौसमविद् डेभिड ढकालका अनुसार काठमाडौं उपत्यकामा आज मध्यम वर्षाको सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। हाल यसको प्रभाव कोसी, बागमती र गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा देखिए पनि बिहीबारदेखि क्रमशः बढ्ने अनुमान छ।
महाशाखाका अनुसार शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा मध्यम तथा केही ठाउँमा भारी, धेरै भारी र अति भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ।
आज पनि कोसी, बागमती, गण्डकीलगायत प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना छ। कोसी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ।














