काठमाडौं, १८ भदौ। रसुवाको भोटेकोशी बाढीपछि अवरुद्ध नुवाकोटको विद्युत् आपूर्ति करिब ९० प्रतिशत पुनःस्थापित भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार चपली–देवीघाट दायाँ सर्किट चार्ज गरेपछि जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् सेवा सुचारु भएको हो।
विद्युत् आपूर्ति पुनःस्थापित भएका क्षेत्रमा विदुर, तारकेश्वर र बेलकोटगढीका विभिन्न वडा रहेका छन्। थप ३१ वटा ट्रान्सफर्मरसमेत चार्ज गरिएको मन्त्रालयले जनाएको छ। आपूर्ति सुचारु भएसँगै विद्युत्को भोल्टेज र विश्वसनीयतामा सुधार आएको छ।
यद्यपि विदुरका केही क्षेत्र, किस्पाङ गाउँपालिका तथा बेलकोटगढी–८ लगायतका स्थानमा विद्युत् सेवा अझै पुनःस्थापित हुन बाँकी छ। क्षतिग्रस्त संरचना मर्मत गरी बाँकी क्षेत्रमा पनि विद्युत् सेवा सञ्चालन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।














