काठमाडौं, १७ भदौ । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको नोस्यामपाटीमा ६०.२ मिलिमिटर वर्षा मापन भएको छ। आज बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा हुने तथा हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
केही स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ। आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेकाले बाढी प्रभावित क्षेत्रमा थप सतर्कता आवश्यक देखिएको छ।
वर्षाका कारण भोटेकोशी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा समेत कठिनाइ भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार टनेलभित्र पानी भरिँदा पानी तान्ने पम्प डुबेको र सुरक्षाकर्मीले पम्प निकालेर पानी व्यवस्थापन गरिरहेका छन्।














