काठमाडौं, १५ भदौ । रसुवाको उत्तरगया गाउँपालिकास्थित निलकण्ठ माध्यमिक विद्यालयका करिब २०० विद्यार्थी, तीन शिक्षक र एक विद्यालय नर्स भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका छन्।
विद्यालयका अनुसार बाढी आउँदा करिब ३५० विद्यार्थी विद्यालय पुगिसकेकाले उनीहरू सुरक्षित भएका छन्। सम्पर्कविहीन विद्यार्थीका अभिभावकसमेत धेरैजसो सम्पर्कमा छैनन्।
सुरक्षित विद्यार्थीमध्ये केहीलाई विभिन्न होल्डिङ सेन्टरमा राखेर खाना र आवश्यक सहयोग उपलब्ध गराइएको छ। साना बालबालिकाले आमाबुबा खोज्ने र मानसिक तनाव देखाउने गरेपछि उनीहरूलाई परामर्श तथा विभिन्न गतिविधिमा सहभागी गराइएको छ।
उत्तरगया गाउँपालिकाका तीन विद्यालय बाढीले पूर्ण रूपमा बगाएको छ। गाउँपालिकाका अनुसार सात शिक्षक र एक विद्यालय नर्ससमेत सम्पर्कविहीन छन्।
बाढीबाट प्रभावित अधिकांश परिवार २०७२ सालको भूकम्पपछि विस्थापित भएर नदी किनारमा बस्दै आएका थिए।














