काठमाडौं, ११ भदौ । नेपालमा आएको बाढी–पहिरोपछि दुई नदीको संगममा बनेको ठूलो प्राकृतिक बाँधसहितको ताल फुट्ने जोखिम बढेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार छोछेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिक बनेको तालमा बिहीबारसम्म करिब २० लाख घनमिटर पानी जम्मा भएको छ। आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको छ।
पानीको मात्रा बढ्दै गए प्राकृतिक बाँध फुटेर अचानक ठूलो बाढी आउन सक्ने भएकाले चीनले उच्च जोखिमको चेतावनी दिएको हो। सम्भावित जोखिमबारे चीनले निरन्तर निगरानी तथा बाढीको बहावसम्बन्धी अध्ययन गरिरहेको जनाएको छ।
यसैबीच, नेपाल–चीन सीमा क्षेत्रमा बाढीपहिरोबाट क्षति भएपछि चिनियाँ पक्षले पनि उद्धार तथा राहतलाई तीव्र बनाएको छ। उद्धारकर्मी, सेना, इन्जिनियरिङ टोली तथा आवश्यक उपकरण परिचालन गरिएको जनाइएको छ।












