काठमाडौं, ९ भदौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। मधेसका केही स्थानमा हुरीको समेत सम्भावना छ। रातिसमेत विभिन्न प्रदेशमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
काठमाडौं उपत्यकामा पनि मध्याह्नपछि तथा साँझ–राति मध्यमसम्म वर्षा हुनसक्ने मौसमविद्ले बताएका छन्। ठूलो वर्षाको सम्भावना भने कम रहेको जनाइएको छ।
महाशाखाका अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा हल्का, १०–५० मिलिमिटर मध्यम, ५०–१०० मिलिमिटर भारी, १००–२०० मिलिमिटर धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा भनिन्छ।












