काठमाडौँ , ६ भदौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको विवाद अदालतमा नभई पार्टी कार्यालयमै बसेर संवाद र सहमतिबाट समाधान गर्नुपर्ने बताएका छन्।
शनिबार कांग्रेसको ‘ग्रिन रन’ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले कांग्रेस नयाँ सोच, दृष्टिकोण र ऊर्जासहित अघि बढिरहेको भन्दै नेताहरूलाई संवादमार्फत पार्टी एकताबद्ध बनाउन आग्रह गरे।
उनले कानुनअनुसार अदालत जाने बाटो खुला भए पनि त्यसबाट मात्र समस्या समाधान नहुने बताए। साथै, असोजमा महाधिवेशन हुने भएकाले सभापति, उपसभापति र महामन्त्रीलगायत पदमा प्रतिस्पर्धा गर्न सबैका लागि अवसर खुला रहेको स्पष्ट पारे।












