जनकपुर, ६ भदौ । अग्रगामी मोर्चाले संगठन विस्तार तथा जनपरिचालनका लागि जनकपुर र वीरगन्जमा संयुक्त भेला गर्ने भएको छ।
शुक्रबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरमा बसेको प्रदेशस्तरीय बैठकले भदौ २७ गते जनकपुरमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका नेता-कार्यकर्ताको संयुक्त भेला गर्ने निर्णय गरेको हो।
यस्तै, असोज ३ गते वीरगन्जमा रौतहट, बारा र पर्साका नेता–कार्यकर्ताको भेला हुनेछ। नौ राजनीतिक दल आबद्ध मोर्चाले मधेश प्रदेश समन्वय समिति गठन गर्दै आठवटै जिल्लामा जिल्ला समन्वय समिति गठनको जिम्मेवारीसमेत बाँडफाँट गरेको छ।
बैठकले सिरहाका गणेश यादवको मृत्यु र बाराकी तीन वर्षीया गरिमा चौधरीको हत्या घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई न्याय, क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।












