काठमाडौं, ४ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत क्रमशः साँघुरिँदै गएकाले आगामी दिन आर्थिक रूपमा चुनौतीपूर्ण हुने बताएका छन्।
सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले लामो अवधि, न्यून ब्याजदर र ग्रेस पिरियडसहित प्राप्त हुने सहुलियतपूर्ण ऋणको स्रोत घट्दै गएको बताए। अनुदान पनि अपेक्षाअनुसार प्राप्त हुन नसकेको उनको भनाइ छ।
चालु आर्थिक वर्षमा करिब २ खर्ब १२ अर्ब रुपैयाँ वैदेशिक ऋण र ६२ अर्ब रुपैयाँ अनुदान अनुमान गरिएको जानकारी दिँदै वाग्लेले विगतमा बजेटमा ४८ देखि ५२ अर्ब रुपैयाँ अनुदान अनुमान गरिए पनि वास्तविक प्राप्ति १० देखि १५ अर्ब रुपैयाँमा सीमित हुने गरेको बताए।
उनले एसियाली विकास बैंक र विश्व बैंकलगायत बहुपक्षीय विकास साझेदारबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण नेपालको विकासका लागि महत्वपूर्ण भए पनि यस्ता स्रोत क्रमशः कठिन बन्दै गएको बताए।
वैदेशिक सहायता घट्दै गएपछि ठूला पूर्वाधार विकासका लागि निजी क्षेत्रको पूँजी परिचालन गर्नुपर्ने अवस्था आएको अर्थमन्त्री वाग्लेको भनाइ छ।












