काठमाडौँ, २८ साउन । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने मिति तय गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् -राखेप) को बिहीबार बसेको १२५औँ बोर्ड बैठकले पाँचौँपटक प्रतियोगिताको मिति निर्धारण गरेको हो । यसअघि पूर्वाधार अभाव, आर्थिक समस्या तथा अन्य कारण देखाउँदै प्रतियोगिताको मिति पटक–पटक सारिएको थियो ।
नवौँ राष्ट्रिय खेलकुदको समापनमा २०८१ मंसिरमा कर्णालीमा दशौँ खेलकुद गर्ने घोषणा भए पनि निर्धारित समयमा हुन सकेन । त्यसपछि चैत, जेठ, फागुनलगायत विभिन्न मिति तोकिए पनि प्रतियोगिता आयोजना हुन नसकेको हो।
अब मंसिर १६ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरिएको छ ।














