काठमाडौँ, २७ साउन । राष्ट्रिय मानव अधिकार आयोगले युवाहरूको मानव अधिकार संरक्षण गर्दै सार्वजनिक नीति निर्माण तथा निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै आयोगले युवाका लागि सुरक्षित, समान र मर्यादित वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको हो । पर्याप्त र मर्यादित रोजगारीको अवसर सिर्जना हुन नसक्नु तथा युवाको ज्ञान, सीप र ऊर्जाको उचित उपयोग नहुनु गम्भीर विषय रहेको आयोगले जनाएको छ ।
आयोगले युवालाई स्वतन्त्र अभिव्यक्ति, शान्तिपूर्ण सभा र संगठन गर्ने अधिकार रहेको उल्लेख गर्दै फरक मत राखेकै आधारमा अनुचित बन्देज नलगाउन आग्रह गरेको छ ।
सामाजिक सञ्जालमा विचार व्यक्त गर्दा धम्की, दुव्र्यवहार, निगरानी र अनुचित कानुनी कारबाही भएको गुनासो प्राप्त भइरहेको भन्दै आयोगले यस्ता घटनाको निष्पक्ष अनुसन्धान गरी पीडितलाई संरक्षण र न्याय दिन सरकारसँग आग्रह गरेको छ ।
साथै, संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल तथा सञ्चारमाध्यमलाई युवाको सुरक्षित र अर्थपूर्ण सहभागिताका लागि अनुकूल वातावरण बनाउन आयोगले आग्रह गरेको छ ।














