काठमाडौँ, २६ साउन । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा मानिस भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
स्थानीय समयअनुसार बिहान ७ः३४ बजे गएको भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तमा जमिनको सतहबाट करिब १०३ किलोमिटर गहिराइमा रहेको थियो ।
भूकम्पको धक्का पश्चिमी कोलम्बियाका विभिन्न क्षेत्रमा महसुस गरिएको थियो । पेरेइरा र आसपासका क्षेत्रमा सबैभन्दा ठूलो क्षति भएको छ ।
त्यहाँ कम्तीमा ४० जनाको मृत्यु र ६५ भवनमा क्षति पुगेको जनाइएको छ । तीमध्ये १५ भवनमा मानिस फसेको आशंका गरिएको छ । काली सहरमा पनि ३२ भवन भत्किएका छन् ।
भूकम्पपछि सरकारले आपत्काल घोषणा गरेको छ । सुरक्षाकर्मी तथा उद्धार टोलीले भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धार गरिरहेका छन् ।
उद्धार कार्य जारी रहेकाले मृतक तथा घाइतेको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।














