जनकपुर, २५ साउन। नेपाल रेडक्रस सोसाइटी धनुषाको ब्लड बैंकमा रगतको मौज्दात घटेपछि रगत अभाव भएको छ।
पछिल्लो समय रगतको माग अत्यधिक बढेपछि ब्लड बैंकमा आवश्यक मात्रामा रगत उपलब्ध हुन नसकेको रेडक्रसले जनाएको छ।
रगतको मौज्दातमा कमी हुँदा उपचाररत बिरामी तथा बिरामीका अभिभावकलाई तत्काल केही कठिनाइ हुन सक्ने अवस्था सिर्जना भएको भन्दै रेडक्रस सोसाइटी धनुषाले आवश्यक रगतको व्यवस्था गर्न बिरामीका परिवारलाई समेत आग्रह गरेको छ।
रेडक्रसले अर्को रक्तदान कार्यक्रममार्फत पर्याप्त रगत संकलन नभएसम्म आवश्यक रगतका लागि नेपाल रेडक्रस सोसाइटी धनुषासँग निरन्तर समन्वय गर्न सबैमा अनुरोध गरेको छ।
यसैबीच, रेडक्रसले रगत अभावलाई मध्यनजर गर्दै स्वेच्छिक रक्तदान गर्न सबै महानुभावलाई अपिल गरेको छ।
रक्तदानमार्फत मानवीय सेवामा सहयोग गर्न र कुनै पनि बिरामीले रगतको अभावका कारण समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले सहयोगका लागि आग्रह गरिएको हो।
रेडक्रसले हालको अवस्थामा रक्तदानलाई प्राथमिकता दिई जीवन बचाउने अभियानमा सहभागी हुन समेत सबैमा अनुरोध गरेको छ।














