काठमाडौँ, २४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र प्रतिबद्धताअनुसार काम नगरे पार्टीले हस्तक्षेप गरी सही बाटोमा ल्याउने बताएका छन् ।
उनले सरकार अहिले नै असफल भइनसकेको भन्दै चार महिनाको कार्यसम्पादनबाट जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट संकेत देखिनुपर्ने बताए ।
नागरिकका गुनासा र सुझाव पार्टीले नजिकबाट सुनिरहेको उल्लेख गर्दै उनले सरकारलाई आवश्यक राजनीतिक अभिभावकत्व दिने क्षमता रास्वपासँग रहेको दाबी गरे ।
सरकारको अवस्थालाई ‘टर्बुलेन्स’सँग तुलना गर्दै लामिछानेले अस्थायी अवरोधबाट नआत्तिन नागरिकलाई आग्रह गरे ।
सरकार आफ्नो लक्ष्यबाट विचलित भए पुनः सही मार्गमा ल्याउने जिम्मेवारी पार्टीले लिने उनले बताएका थिए ।














