काठमाडौं, २० साउन । वीर अस्पतालमा विगत एक सातादेखि आमरण अनशनमा बसेकी नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच गएराति १९ बुँदे सहमति भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको वार्तापछि रानाभाटले आफ्नो सत्याग्रह अन्त्य गरेकी छन् । सहमतिअनुसार नर्स–बिरामी अनुपात प्रभावकारी रूपमा लागू गर्ने, आवश्यक दरबन्दी सिर्जना गरी स्थायी पदपूर्ति प्रक्रिया अघि बढाउने, नर्सहरूको सेवा–सुविधा र पारिश्रमिक निर्धारणका लागि ७ दिनभित्र कार्यदल गठन गर्ने तथा जोखिम भत्तासम्बन्धी कानुनी व्यवस्था सुनिश्चित गरिने भएको छ ।
त्यस्तै, एक स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था अवधारणा लागू गर्ने, नर्सिङ सेवा सुधार, छात्रवृत्ति, विशेषज्ञ नर्स पद सिर्जना, नर्सिङ परिषद् ऐन संशोधन तथा नर्सिङ र मिडवाइफ्रीसम्बन्धी छुट्टै कानुन निर्माण प्रक्रियामा नर्स प्रतिनिधिलाई सहभागी गराउने सहमति भएको छ ।














