काठमाडौं, १९ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले तराई-मधेश घटनापछि सरकार र हिन्दू सम्राट सेनाबीच भएको वार्ताप्रति प्रश्न उठाउँदै नेपालमा नेपाली सेनाबाहेक अन्य कुनै पनि समूहले सेना नाम प्रयोग गर्नु उपयुक्त नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालमा संवैधानिक रूपमा मान्यता प्राप्त एकमात्र सेना नेपाली सेना रहेको उल्लेख गरे । देशमा सेना गठन गर्ने अधिकार कसलाई छ, त्यसका कानुनी आधार र मापदण्ड के हुन् ? भन्ने प्रश्न उठाउँदै उनले सेना नाम प्रयोग गर्ने विभिन्न समूहबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए ।
साम्पाङले यस्ता नामबाट सञ्चालन भइरहेका संगठनहरूको कानुनी हैसियत स्पष्ट गरी आवश्यक परे नियन्त्रण गर्न सरकारसँग माग गरे ।
उनले आफू जनकपुर भ्रमणका क्रममा अवरोधको सामना गर्नुपरेको दाबी गर्दै निर्वाचित सांसदलाई देशको जुनसुकै स्थानमा पनि निर्बाध रूपमा आवतजावत गर्ने अधिकार सुनिश्चित हुनुपर्ने बताए ।
यदि सांसदलाई नै आफ्नै देशमा स्वतन्त्र रूपमा हिँडडुल गर्न कठिनाइ हुन्छ भने कानुनी शासनको अवस्थामाथि प्रश्न उठ्छ,भन्दै उनले नागरिकको संवैधानिक अधिकारको संरक्षण गर्न सरकारलाई आग्रह गरे ।














