काठमाडौं, १८ साउन । मोरङ प्रहरीले नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको विराटनगरस्थित निवासमा सोमबार बिहान खानतलासी गरेको छ ।
अवैध सामग्री र स्रोत नखुलेको रकम राखिएको सूचनाका आधारमा एसपी कवित कटुवालको नेतृत्वमा पुगेको प्रहरी टोलीले घरमा छापा मारेको थियो ।
खानतलासीका क्रममा सुरक्षा व्यवस्था कडा पार्दै आसपासका सडकसमेत केही समयका लागि अवरुद्ध गरिएको थियो । प्रहरीका अनुसार खानतलासीमा कुनै अवैध सामग्री फेला नपरेपछि टोली फर्किएको छ ।
छापाको कारणबारे आधिकारिक जानकारी सार्वजनिक नभएको भन्दै नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले पनि स्पष्ट जानकारी नपाएको बताएका छन् ।














