जनकपुर, १५ साउन । जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा जारी कफ्र्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाउने निर्णय गरेको छ । सर्वसाधारणको दैनिक जीवन सहज बनाउन शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म कफ्र्यु खुला रहने प्रशासनले जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार उक्त अवधिमा नागरिकले दूध, तरकारी, फलफूल, खाद्यान्न लगायतका अत्यावश्यक उपभोग्य वस्तु खरिद गर्न सक्नेछन्।
आवश्यक सामग्री खरिद गरेपछि सबैले पुनः आफ्नो निवासमा फर्केर कफ्र्यु आदेशको पूर्ण पालना गर्न प्रशासनले आग्रह गरेको छ । प्रशासनले कफ्र्यु जारी रहे पनि अत्यावश्यक सेवाहरू भने नियमित सञ्चालनमा रहने स्पष्ट पारेको छ ।
अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, खानेपानी तथा दूध बोक्ने सवारी, फोहोर संकलन गर्ने सवारीलगायतका सेवामा कुनै अवरोध नहुने सूचनामा उल्लेख गरिएको छ ।
त्यसैगरी स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल जाने तथा फर्कने यात्रु र उनीहरूलाई ल्याउने–पु¥याउने व्यक्तिले परिचयपत्र वा सम्बन्धित प्रमाणपत्रका आधारमा आवतजावत गर्न सक्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले नागरिकलाई तोकिएको समयभित्र मात्रै बाहिर निस्कन, सुरक्षा निकायसँग सहयोग गर्न तथा कफ्र्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
प्रशासनका अनुसार परिस्थितिलाई मध्यनजर गर्दै आगामी निर्णय आवश्यकताअनुसार सार्वजनिक गरिनेछ ।














