काठमाडौं, १५ साउन । नेपाल प्रहरीले मधेश प्रदेशका पाँच जिल्लाबाट सामाजिक सद्भावमा खलल पु¥याएको आरोपमा ३६ जनालाई पक्राउ गरेको जनाएको छ ।
पछिल्ला केही दिनयता विभिन्न स्थानमा भएका प्रदर्शन, उत्तेजक गतिविधि तथा सामाजिक सद्भावमा असर पुग्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सा जिल्लाबाट ती व्यक्तिहरू पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये सबैभन्दा बढी धनुषाबाट १९ जना रहेका छन् ।
त्यसैगरी सर्लाहीबाट ९ जना, सिरहाबाट ५ जना, महोत्तरीबाट २ जना र पर्साबाट १ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेकामाथि सामाजिक सद्भाव बिगार्ने, सार्वजनिक शान्ति–सुरक्षामा असर पु¥याउने तथा कानूनविपरीत गतिविधिमा संलग्न भएको आरोपमा आवश्यक अनुसन्धान अघि बढाइएको छ ।
उनीहरूको संलग्नताबारे थप प्रमाण संकलन गर्ने र कानुनी प्रक्रिया अनुसार कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।













