जनकपुर, १५ साउन । धनुषाको सबैला नगरपालिका–१२ स्थित कडेरी हनुमान मन्दिर परिसरमा मृत भेटिएका ४० वर्षीय बन्ठु राउत कडेरीको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीले आग्रह गरेको छ ।
हंसपुर नगरपालिका–३ मल्हेनीयाका कडेरी बिहीबार राति मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका थिए भने उनको शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मधुसुदन न्यौपानेका अनुसार प्रारम्भिक अनुसन्धानबाट घटना आपराधिक प्रकृतिको देखिएको छ ।
प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरी अनुसन्धान गरिरहेको छ भने शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । प्रहरीले सामाजिक सद्भाव कायम राख्न र घटनालाई धार्मिक विवादसँग नजोड्न सबैसँग आग्रह गरेको छ ।














