पर्सा, १० साउन । पर्साको छिपरमाई गाउँपालिका–१ मिर्जापुरस्थित एक आँप बगैंचाबाट प्रहरीले १४० किलो गाँजा बरामद गरेको छ ।
शनिबार राति विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बलको मिर्जापुरस्थित बोर्डर आउटपोस्ट -बीओपी- को संयुक्त टोलीले उक्त गाँजा फेला पारेको हो ।
संयुक्त टोलीले बगैंचामा खानतलासी गर्ने क्रममा घाँसभित्र लुकाएर राखिएको १३ पोकामा रहेको १४० किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट हालसम्म कुनै पनि व्यक्ति पक्राउ नपरेको प्रहरीले जनाएको छ । गाँजा कसले लुकाएको हो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको र संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।














