जनकपुर, ९ साउन । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हरेक नागरिकले आफ्नो पेसा र व्यवसायप्रति गर्व गर्न सक्ने वातावरण निर्माण हुनु नै वास्तविक लोकतन्त्रको आधार भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषामा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवन उद्घाटन गर्दै उनले लोकतन्त्र व्यवहारमा लागू हुनुपर्नेमा जोड दिए ।
उनले पसले, मजदुर, प्रहरी, इलेक्ट्रिसियन, भान्से वा अन्य कुनै पनि पेसा सानो–ठूलो नहुने भन्दै सबै श्रम र पेसाको समान सम्मान हुनुपर्ने बताए ।
महानिरीक्षक कार्कीले प्रहरी सेवामा आउने सबै नागरिकलाई बिना विभेद समान व्यवहार गर्न निर्देशन दिँदै नयाँ भवनले सेवाग्राहीलाई सहजता र प्रहरीको कार्यसम्पादनमा थप प्रभावकारिता ल्याउने विश्वास व्यक्त गरे ।














