जनकपुर, ७ साउन । धनुषाको हन्सपुर नगरपालिका–३ नरैयामा एक रहस्यमय घटना सार्वजनिक भएको छ । पोखरी नजिकको चौरमा टुटफुट अवस्थामा मोटरसाइकल फेला परेपछि स्थानीयवासी त्रसित बनेका छन् भने मोटरसाइकल चालक अझै सम्पर्कविहीन छन् ।
स्थानीयका अनुसार प्रदेश २–०२–००१ प २२३४ नम्बरको मोटरसाइकल बिहीबार बिहान पोखरीको किनारमा क्षतिग्रस्त अवस्थामा फेला परेको हो । उक्त मोटरसाइकलका चालक २५ वर्षीय साजन दास भने घटनास्थलबाट बेपत्ता रहेको बताइएको छ ।
साजनका हजुरआमा गुलो देबीका अनुसार उनी बुधबार राति करिब ११ बजे घरबाट मोटरसाइकल लिएर निस्किएका थिए । रातभर परिवारले आफन्त तथा चिनेजानेका स्थानमा खोजी गरे पनि उनको कुनै अत्तोपत्तो लागेन ।
बिहीबार बिहान स्थानीयले पोखरीको छेउमा मोटरसाइकल फेला पारेपछि परिवार घटनास्थल पुगेको थियो । तर मोटरसाइकल मात्र भेटिएको र साजनको अवस्था तथा उनी कहाँ छन् भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
घटनाबारे जानकारी पाएपछि स्थानीयवासी ठूलो संख्यामा घटनास्थलमा भेला भएका छन् । मोटरसाइकल कसरी दुर्घटनामा प¥यो, यो दुर्घटना हो वा अन्य कुनै घटना, भन्ने विषय अझै खुल्न सकेको छैन ।
साजन बेपत्ता भएपछि उनका परिवारका सदस्य चिन्तित बनेका छन् । उता जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे जानकारी प्राप्त भएको र सबै पक्षबाट अनुसन्धान सुरु गरिएको जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलको मुचुल्का उठाउने, प्रमाण सङ्कलन गर्ने तथा बेपत्ता युवकको खोजी कार्यलाई तीव्र बनाइएको छ । प्रहरीले घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको भन्दै अनुसन्धान पूरा नभएसम्म कुनै निष्कर्षमा नपुग्न आग्रह गरेको छ ।
यता स्थानीयवासीले बेपत्ता युवकको सकुशल उद्धार तथा घटनाको सत्यतथ्य चाँडै सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।














