जनकपुर, ६ साउन । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा पार्टीलाई सुदृढ बनाउन नसकिए देश र समग्र कम्युनिस्ट आन्दोलनले गम्भीर क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन् ।
जनकपुरमा आयोजित मधेश प्रदेश समितिको शपथग्रहण तथा एकता भेलामा बोल्दै उनले मधेशलाई जनसंख्या, विकास र राजनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण प्रदेश भएको बताए ।
मधेशमा बलियो संगठन निर्माण गर्न सके पार्टी, मधेश आन्दोलन र समग्र राजनीतिक शक्तिलाई नयाँ उचाइमा पु¥याउन सकिने, तर त्यसो हुन नसके ठूलो दुर्घटनाको जोखिम रहने उनको भनाइ थियो ।
प्रचण्डले मधेशमा संगठन विस्तार, जनसम्पर्क वृद्धि र कार्यकर्ता परिचालनलाई उच्च प्राथमिकताका साथ अघि बढाइने जानकारी दिँदै नवनिर्वाचित प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई शपथसमेत गराएका छन् ।














