काठमाडौं, २ साउन । मनसुन प्रतिकार्य कमाण्ड पोष्टले साउन २ र ३ गते कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।
जल तथा मौसम विज्ञान विभागले पाँचथरदेखि स्याङ्जासम्मका २४ जिल्लालाई ‘रातो सूची’मा राख्दै ती क्षेत्रमा बाढी, पहिरो, डुबान र कटानको उच्च जोखिम औँल्याएको छ ।
कमाण्ड पोष्टले जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न सकिने, आवश्यक परे तत्काल बन्द गर्न जिल्ला सुरक्षा समितिलाई अधिकार दिएको छ ।
साथै, सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई तयारी अवस्थामा रहन, सडक खुलाउन आवश्यक उपकरण तयारीमा राख्न तथा जोखिममा रहेका बस्तीलाई पूर्वसूचनाका आधारमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएको छ ।














