काठमाडौं, २ साउन । आफ्ना समस्या प्रत्यक्ष रूपमा गृहमन्त्रीसमक्ष राख्न नपाएको भन्दै सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले बल प्रयोग गरी हटाएको छ ।
विगतदेखि आफू हिंसापीडित रहेको भन्दै न्यायको माग गर्दै आएकी कुमारी आमाका रूपमा परिचित निहारिका राजपुत र बिनु यादवलाई शनिबार प्रहरीले लछारपछार गर्दै गेटबाट हटाएको हो ।
गृहमन्त्री सुधन गुरुङसँग भेटेर आफ्ना गुनासा सुनाउन पाउनुपर्ने माग गर्दै उनीहरू पछिल्ला पाँच दिनदेखि निरन्तर सिंहदरबार गेटमा धर्ना दिँदै आएका छन् ।
तर, प्रत्येक दिनजसो प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई त्यहाँबाट हटाउने गरेको छ । उनीहरूको निरन्तरको धर्ना र प्रहरी हस्तक्षेपले न्यायको माग तथा नागरिकको आवाज सुन्ने राज्यको दायित्वबारे फेरि प्रश्न उठाएको छ ।














