काठमाडौं, २ साउन । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार मनसुन थप सक्रिय हुने तथा देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै विशेष मौसम बुलेटिन जारी गरेको छ ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै गएकाले मनसुनी गतिविधि तीव्र हुने महाशाखाले जनाएको छ ।
कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ भने मधेस, बागमती र गण्डकीका तराईका केही क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।
देशभर मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गर्दै महाशाखाले बाढी, पहिरो, डुबान तथा नदी–खोलामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।














