काठमाडौं, ३० असार । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिबारे संसद्मा उपस्थित भएर स्पष्ट पार्दै आफ्नो भनाइ सच्याउनुपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले विपक्षी दलले करिब डेढ महिनादेखि प्रधानमन्त्रीलाई उक्त अभिव्यक्ति सच्याउन आग्रह गर्दै आएको भए पनि अहिलेसम्म कुनै जवाफ नआएको भन्दै असन्तुष्टि जनाए ।
बरु ढुङ्गा बोल्ला, मान्छे बोल्दैन भनेजस्तै अवस्था भयो। यसले डर र चिन्ता बढाएको छ, उनले भने । राईले प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा सामाजिक सञ्जालमार्फत सिंहदरबार जलाइदिन्छु भन्ने अभिव्यक्ति दिएको प्रसंग पनि स्मरण गराए ।
त्यसपछि सिंहदरबारमा आगलागीको घटना भएको उल्लेख गर्दै उनले सीमा सम्बन्धी अभिव्यक्तिले पनि अनावश्यक भ्रम र आशंका सिर्जना गर्न सक्ने बताए ।
यद्यपि, प्रधानमन्त्रीको उक्त अभिव्यक्ति नियतवश आएको भन्ने आफूलाई नलाग्ने स्पष्ट पार्दै उनले संसद्मा आएर त्यसबारे स्पष्टीकरण दिनु नै उपयुक्त हुने धारणा व्यक्त गरे ।














