जनकपुर, २७ असार । धनुषाको नगराइन नगरपालिका–७ बिर्तामा २४ वर्षीया सुशिला कुमारी दासको शंकास्पद मृत्यु भएको घटनाले स्थानीय क्षेत्रमा सनसनी मच्चाएको छ ।
मृतकका माइती पक्षले उनको हत्या गरी आत्महत्या जस्तो देखाउन झुण्ड्याइएको आरोप लगाएका छन् । आफन्तका अनुसार घटनापछि माइती पक्षलाई जानकारी नै नदिई शव दाहसंस्कार गर्ने प्रयास गरिएको थियो ।
तर माइती पक्ष स्वर्गद्वारी पुगेपछि ससुरा पक्षका सदस्यहरू शव छाडेर फरार भएका थिए । मृतकका आफन्तले सुशिलाका श्रीमान् मातृका दासको अर्की महिलासँग प्रेम सम्बन्ध रहेको र सोही कारण सुशिलाको ज्यान गएको दाबी गरेका छन् ।
उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । घटनाबारे अनुसन्धानका लागि प्रहरीले मृतकका श्रीमान् मातृका दासलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ ।
नोटः घटनामा हत्या भएको भन्ने आरोप मृतकका आफन्तको दाबी हो । यसको पुष्टि अनुसन्धानपछि मात्र हुनेछ ।














