काठमाडौं, २६ असार । जनता समाजवादी पार्टी (नेपाल) ले गणेश नेपालीको उपचारका क्रममा भएको निधनलाई लोकतान्त्रिक तथा कानुनी राज्यका लागि गम्भीर चेतावनी भएको जनाएको छ।
अध्यक्ष उपेन्द्र यादवले शुक्रबार विज्ञप्ति जारी गर्दै कुनै पनि नागरिक आत्मदाहजस्तो अन्तिम निर्णय गर्न बाध्य हुनु राज्यको उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाउने विषय भएको बताएका हुन्।
जसपा नेपालले घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गर्न, दोषी देखिए कानुनबमोजिम कारबाही गर्न तथा गणेश नेपालीका परिवारलाई उचित राहत, क्षतिपूर्ति र आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
साथै श्रमिक, युवा तथा आम नागरिकका गुनासा समयमै सम्बोधन गर्ने, न्यायमा सहज पहुँच र मनोसामाजिक सहयोगलाई प्रभावकारी बनाउने व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेको छ।














