काठमाडौं, २६ असार । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नभई देश र जनताको सेवा गर्न गृहमन्त्रीको जिम्मेवारीमा आएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले आफू काममा विश्वास गर्ने व्यक्ति भएको र जनताको सेवाका लागि निरन्तर खटिरहेको दाबी गरे ।
पछिल्ला केही दिनयता आफूमाथि लागेको स्टन्टबाजीको आरोपप्रति प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले संसद्मा भाषण गरेर वा घाँटी चिच्याएर मात्र जनताको सेवा नहुने बताए।
उनले जनताको समस्या समाधानका लागि प्रत्यक्ष रूपमा काम गर्नुपर्नेमा जोड दिए । उनले भने, घाँटी चिच्याएर मात्रै हुँदैन । जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र हुँदैन ।
त्यो मुखले बोलेको ५० औँ वर्ष भइसक्यो । अब हामीले हातले काम गरेर देखाउनुपर्छ । जनताको बीचमा गएर सेवा गर्नुपर्छ। त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ भने भन्नुहोस्, तर मलाई कसैका लागि स्टन्टबाजी गर्ने इच्छा छैन।
म आफ्नो देशको सेवा गर्न आएको हुँ। गृहमन्त्री गुरुङले गणेश नेपालीको उपचारका क्रममा आफू अस्पताल पुगेको प्रसंग उल्लेख गर्दै विपक्षी सांसदहरूप्रति पनि प्रश्न उठाए ।
उनले घटनापछि गृह मन्त्रालयमा आवश्यक कदमबारे टोलीसँग छलफल गरिरहेको र पीडितको अवस्थाबारे निरन्तर चासो राखेको दाबी गरे ।
उनले सांसदहरूलाई लक्षित गर्दै भने, हामी गृहमन्त्रीमा बसेर कसरी के गर्ने भनेर टिम बनाएर छलफल गरिरहेका थियौँ ।
म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो अस्पतालमा कति जना हुनुहुन्थ्यो? जो आज यहाँ घाँटी चिच्याएर कराइरहनुभएको छ।
गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर संसद्मा पक्ष र विपक्षबीच आरोप–प्रत्यारोप भइरहेका बेला गृहमन्त्री गुरुङले सरकार घटनाप्रति संवेदनशील रहेको र जनताको सेवामा केन्द्रित भएर काम गरिरहेको बताएका छन् ।














