काठमाडौं, २५ असार । राष्ट्रियसभाले आर्थिक विधेयक, २०८३ बहुमतले पारित गरेको छ ।
बिहीबार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि दफावार छलफल सम्पन्न गरी बहुमतबाट पारित गरेको हो ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकलाई कुनै संशोधन वा सुझावबिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
त्यसअघि उनले विधेयकमाथि दफावार छलफलका लागि प्रस्ताव राखेका थिए । छलफलका क्रममा राष्ट्रियसभा सदस्यहरू डा. प्रेम दङ्गाल, सम्झना देवकोटा, रोशनी मेचे र सोमनाथ पोर्तेलले शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत सेवामा थप कर नलगाउन सरकारसँग आग्रह गरेका थिए ।
उनीहरूले जनसरोकारका क्षेत्रमा करको भार बढाउँदा सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित हुने धारणा व्यक्त गरेका थिए ।
यस्तै, बैठकको शून्य समयमा सदस्यहरूले सुकुमबासीको सुरक्षित र व्यवस्थित बसोबासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरूले आवास व्यवस्थापनलगायत जनजीविकासँग सम्बन्धित विषयमा आवश्यक पहल गर्न सरकारसँग माग गरेका छन् ।














