काठमाडौं, २३ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत सञ्चालन गरिएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डका अनुसार परीक्षामा १ लाख २९ हजार ११४ विद्यार्थी सहभागी भएकामध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्, जुन कुल सहभागीको ६४.६९ प्रतिशत हो।
नतिजाअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन्। त्यस्तै १६ हजार ४६७ जनाले २.८०–३.२०, १४ हजार ३६२ जनाले २.००–२.४०, १ हजार १९५ जनाले ३.२०–३.६०, ४५ जनाले १.६०–२.०० र १६ जनाले ३.६०–४.०० जीपीए हासिल गरेका छन्। ०.८०–१.२० तथा १.२०–१.६० जीपीए प्राप्त गर्ने विद्यार्थी भने छैनन्।
विद्यार्थीहरूले आफ्नो नतिजा बोर्डको वेबसाइट, आईभीआर तथा एसएमएस/यूएसएसडी सेवामार्फत हेर्न सक्नेछन्। नतिजाप्रति असन्तुष्ट हुने परीक्षार्थीले तोकिएको समयभित्र अनलाइनमार्फत पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
यसैबीच, परीक्षा आचारसंहिता उल्लंघन गरेको आरोपमा केन्द्राध्यक्षको सिफारिसका आधारमा ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जानकारी दिएको छ।














