जनकपुर, ७ असार । सडक सुरक्षा तथा जनचेतनामूलक ट्राफिक सप्ताह–२०८३ को अवसरमा धनुषाको जिरोमाइल चोकमा खुला रक्तदान तथा सवारी चालक–सहचालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
आईतवार बिहान ८ बजेदेखि १०ः३० बजेसम्म सञ्चालन गरिएको कार्यक्रममा रक्तदानसँगै आँखा, श्रवण शक्ति तथा रक्तचाप -ब्लड प्रेसर) परीक्षण गरिएको थियो।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जनकपुर, प्रादेशिक अस्पताल जनकपुर तथा जनकपुर नेत्रालय बसपार्कको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए भने १२० जना सवारी चालक, सहचालक तथा सर्वसाधारणले स्वास्थ्य परीक्षण सेवा लिएका थिए ।
ट्राफिक सप्ताहको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमले सडक प्रयोगकर्ताबीच स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै रक्तदानजस्ता सामाजिक कार्यप्रति सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।














