जनकपुर, ३० भदौ । मधेश प्रदेशका सरकारी तथा निजी स्वास्थ्य संस्थामा देखिएका लापरबाही, अनियमितता र सेवासम्बन्धी समस्या समाधान गर्न माग गर्दै मधेश युवा सञ्जालले स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमक्ष १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा उपचारका क्रममा हुने लापरबाही, बिरामीको मृत्यु, आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था, निःशुल्क उपचारको प्रभावकारी कार्यान्वयन नहुनु, अस्पतालको कमजोर अनुगमन तथा सरसफाइको समस्या लगायतका विषयमा गम्भीर ध्यानाकर्षण गराइएको छ ।
युवाहरुको सञ्जालले धनुषाको प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु, सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आर्थिक अभावका कारण सुत्केरी महिला अस्पतालबाहिर सुत्केरी हुनुपरेको भनिएको घटना तथा जनकपुरधामस्थित मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि बिरामीको मृत्यु भएको भनिएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।
ज्ञापनपत्रमा स्वास्थ्य संस्थामा कम्तीमा १० प्रतिशत निःशुल्क शय्या तथा उपचार सेवा लक्षित वर्गले पाउने व्यवस्था कडाइका साथ लागू गर्न, सबै अस्पताल तथा स्वास्थ्य संस्थाको नियमित र आकस्मिक अनुगमन गर्न, चिकित्सकीय लापरबाही तथा गलत उपचारका घटनामा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।
त्यस्तै, अनावश्यक परीक्षण तथा औषधि, बढी शुल्क र कमिसन नियन्त्रण गर्न, स्वीकृत शुल्कदर सार्वजनिक गर्न, अस्पतालमा सरसफाइ, खानेपानी, संक्रमण नियन्त्रण र मेडिकल फोहोर व्यवस्थापनको न्यूनतम मापदण्ड लागू गर्न तथा प्रसूति, नवजात शिशु, आकस्मिक, आईसीयू र शल्यक्रिया सेवामा आवश्यक जनशक्ति, उपकरण, औषधि र २४ घण्टे सेवा सुनिश्चित गर्न माग गरिएको छ ।
सञ्जालले उठाएका माग सम्बोधनका लागि १५ दिनको समयसीमा दिँदै माग पूरा नभए थप दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत दिएको छ ।














