काठमाडौँ, ३० भदौ । रसुवाको भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनामा क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनाको सुरक्षा सुदृढ गर्न ६बुँदे सुरक्षा अवधारणा अघि सारेको छ।
मन्त्रालयका अनुसार अब हरेक आयोजनामा अनिवार्य संरचनात्मक बिमा, एक आयोजना–एक सुरक्षा अधिकारी, नियमित उद्धार तालिम र आकस्मिक योजना लागू गर्ने तयारी छ।
त्यस्तै, पावर हाउसमा कम्तीमा ३० दिनलाई पुग्ने खाद्यान्न तथा अत्यावश्यक सामग्री भण्डारण गर्नुपर्ने र सुरुङमार्गको सुरक्षा तथा पुनर्संरचनामा विशेष ध्यान दिने प्रस्ताव गरिएको छ।
नयाँ व्यवस्थाले प्राकृतिक विपद् तथा आपत्कालीन अवस्थामा आयोजना, पूर्वाधार र कामदारको सुरक्षा बढाउने मन्त्रालयको अपेक्षा छ।














