काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम र विपद् न्यूनीकरणका लागि विश्वव्यापी सहयोग तथा सहकार्य आवश्यक रहेको बताएका छन्।
मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’का लागि पठाएको शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको क्षति, जोखिम र समाधानका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने बताएका छन्।
उनले हिमाल पग्लिने, हिमनदीको बहाव बढ्ने, पानीका मुहान सुक्ने तथा मौसममा आएको असामान्य परिवर्तनले हिमालदेखि तराईसम्म जनजीवन, कृषि र जैविक विविधतामा असर परेको उल्लेख गरेका छन्।
जलवायुजन्य जोखिम सामना गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा समेत प्रधानमन्त्री शाहले जोड दिएका छन्।














