काठमाडौं, ५ असार । प्रतिनिधि सभाको बैठक ६ दिनका लागि स्थगित गरिएको छ। शुक्रबार सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक आगामी असार ११ गते बस्ने गरी स्थगित गरिएको जानकारी दिएका हुन्।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार ७ गतेदेखि चितवनमा आयोजना हुँदैछ। प्रतिनिधि सभामा रास्वपाको उल्लेख्य प्रतिनिधित्व रहेकाले पार्टीका सांसदहरू महाधिवेशनमा सहभागी हुने कार्यक्रम छ।
सांसदहरूको महाधिवेशनमा सहभागितालाई ध्यानमा राख्दै प्रतिनिधि सभा बैठक केही दिनका लागि स्थगित गरिएको जनाइएको छ। यद्यपि, राष्ट्रिय सभामा रास्वपाको प्रतिनिधित्व नरहेकाले त्यहाँको कार्यसूचीमा यसको प्रत्यक्ष प्रभाव नपर्ने बताइएको छ।














