काठमाडौं, ४ असार । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
कार्यवाहक मेयर सुनिता डंगोलले नगरसभामा प्रस्तुत गरेको बजेटअनुसार महानगरको आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ व्यवस्थापन हुने अनुमान गरिएको छ ।
संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँटबाट ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ । बजेटमध्ये सबैभन्दा बढी ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ पूर्वाधार विकास क्षेत्रमा विनियोजन गरिएको छ ।
सामाजिक विकासका लागि २ अर्ब ४२ करोड २७ लाख रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ अर्ब १३ करोड ४७ लाख रुपैयाँ तथा प्रशासनिक खर्चका लागि ४ अर्ब ७१ करोड ६९ लाख रुपैयाँ छुट्याइएको छ । महानगरले चालु आर्थिक वर्ष २०८२/८३ मा २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।














