काठमाडौं, असार ४ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ ले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन लाई संसदमै सचेत गराएका छन् ।
मन्त्री पुनले संसदमा दिएको जवाफ तथा मन्त्रालयको बजेट व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै साम्पाङले सरकारको जिम्मेवार मन्त्रीले गुनासो गर्ने शैली उपयुक्त नभएको बताएका हुन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले मन्त्री पुनले आफ्नो धारणा राख्ने क्रममा अत्यधिक लामो जवाफ दिएको र संसदको समय व्यवस्थापनप्रति पर्याप्त ध्यान नदिएको टिप्पणी गरे ।
उनले मन्त्रीले विषयवस्तुमा केन्द्रित र संक्षिप्त रूपमा जवाफ दिनुपर्नेमा जोड दिए । साम्पाङले विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत राखिएको अवण्डा -कार्यक्रम नतोकी छुट्याइएको) बजेटप्रति पनि गम्भीर चासो व्यक्त गरे । राज्यको स्रोत–साधन पारदर्शी र परिणाममुखी ढंगले खर्च हुनुपर्ने उल्लेख गर्दै उनले अवण्डा बजेटलाई नियन्त्रण र निगरानीको दायरामा राख्न सरकारलाई आग्रह गरे।
उनले बजेट विनियोजन गर्दा जनताले प्रत्यक्ष लाभ पाउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै, कुनै पनि शीर्षकमा अस्पष्ट रूपमा रकम राख्ने परिपाटी अन्त्य हुनुपर्ने बताए ।
सांसद साम्पाङले सरकारका मन्त्रीहरू जनताप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै संसदमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा जिम्मेवारीपूर्ण व्यवहार प्रदर्शन गर्नुपर्ने बताए । साथै, बजेट कार्यान्वयनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारितालाई प्राथमिकता दिन सरकारलाई आग्रह गरे ।














