जनकपुर, २८ जेष्ठ । लगातार परेको भारी वर्षाका कारण जनकपुर क्षेत्र जलमग्न भएको छ ।
बिहीबार बिहान करिब एक घण्टाभन्दा बढी समयदेखि भइरहेको वर्षापछि नगरका मुख्य सडक तथा भित्री गल्लीहरू डुबानमा परेका छन् ।
अविरल वर्षाका कारण सडकमा पानी जम्दा सवारी आवागमन प्रभावित भएको छ भने पैदलयात्रीलाई समेत आवतजावत गर्न कठिनाइ भएको स्थानीयले बताएका छन् ।
नगरका विभिन्न स्थानमा पानी निकासको समस्या देखिएपछि सडकहरू साना पोखरीजस्तै बनेका छन् । मुख्य बजार क्षेत्र, चोक तथा आवासीय बस्ती आसपासका सडकहरूमा पानी भरिएपछि सर्वसाधारणलाई दैनिक कामकाजमा समस्या भएको छ ।
सम्बन्धित निकायले पानी निकासको व्यवस्था र सम्भावित जोखिम क्षेत्रको अनुगमनलाई तीव्र बनाउनुपर्ने माग स्थानीयले गरेका छन् ।














